काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । उपचारका क्रममा विराट मेडिकल कलेज विराटनगरमा उनको निधन भएको हो ।
हक्की स्वभावका बुढाथोकी क्यान्सरबाट पीडित थिए । यसैबिच नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आकस्मिक बैठकले माघ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको हो ।बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
यस्तै कांग्रेसले पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरेको छ । कांग्रेसले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने तथा स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।