काठमाडौं । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको स्रोत सुनिश्चित गर्ने भएको छ।
प्रदेश सरकारको आज बिहान बसेको मन्त्री परिषद् बैठकले चितवनमा निर्माणाधीन उक्त रङ्गशालाका लागि स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो। भरतपुर महानगरसँगको सम्झौता अनुसार प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रङ्गशाला निर्माण गर्न भरतपुर महानगरपालिकाको प्रस्तावित लागत अनुमान ७५ करोड रुपियाँमध्ये ७० प्रतिशत व्यहोर्ने सम्झौता अनुसार स्रोत सुनिश्चितता गरिएको जानकारी दिए। उनले ५२ करोड ५० लाख रुपियाँको स्रोत सुनिश्चितता गरेको बताए।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार र महानगरपालिकाबिचको सहमति अनुसार प्रदेश सरकारले उक्त रङ्गशालाका लागि ५२ करोड ५० लाख रुपियाँ बराबर बजेट व्यवस्थापन गर्ने गरी स्रोत सुनिश्चितता गरेको जानकारी दिए।
गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उक्त गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न भरतपुर महानगरपालिकाले तयार गरेको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत रकम व्यहोर्ने गरी सम्झौता गरिएको थियो।
महानगरपालिकाले तयार गरेको प्रस्ताव अनुसार पहिलो चरणमा १० हजार दर्शक क्षमताको प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माण गरिने भएको छ।