काठमाडौँ । प्रधानमन्त्री एवम् राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकमा प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले आफूप्रति भरोसा राखेको र त्यही शक्तिका साथ संघीयता कार्यान्वयनमा लाग्ने बताए ।
उनले २०७६ सालमा परिषद्सम्बन्धी कानुन बने पनि पहिलो बैठक आफूले नै गत असारमा राखेको उनको भनाइ थियो ।उनले संघीयता कार्यान्वयन गर्न आफू मुख्यमन्त्रीहरूसँग लगातार छलफलमै रहेको भन्दै संविधान कार्यान्वयनमा सबैले चासो र चिन्तन गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री दाहालले संघीय निजामती सेवा ऐन र प्रहरी समायोजनका लागि उपप्रधानमन्त्रीहरूलाई जिम्मेवारी नै तोकेर काम थालिएको बताए ।प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेट सामूहिक विवेकमा केन्द्रीकृत हुनुपर्नेमा जोड दिए ।