काठमाडौँ । भिजिट भिसाको आवरणमा संगठित समूह बनाएर मानव तस्करी गरेको आरोप लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कासहित चार जनालाई जिल्ला अदालत, काठमाडौंले जेल चलान गरेको छ।
नरवीर मानव बेचखिन तथा ओसारपसार सम्बन्धी अलग्गै कसूरमा पुर्पक्षका लागि थुनामा छन्। रुसी सेनामा भर्ती हुन गएका एक जना पूर्व प्रहरीले फर्किएपछि जाहेरी दिएर नरवीर गत मंसीरमा पक्राउ परेका थिए।
न्यायाधीश कपिलमणि गौतमको इजलासले माघ २३ गते नरवीर, अरुण दाहाल, मनोज तामाङ र सरोजकुमार यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
दिनेश ज्ञवाली, रविन अर्याल, पदम लामा, विनोद कार्की र रामप्रसाद भण्डारीलाई भने धरौटीमा छोडेको छ। पाँच लाख धरौटी जम्मा गर्न नसकेपछि गीता शाहलाई पनि जेल चलान गरिएको छ।