काठमाडौँ । दुई हप्ता अघि आएको छ लाख थान स्मार्ट कार्ड लाइसेन्सको छपाई कार्य अझै सुरु हुन सकेको छैन । स्मार्ट कार्ड लाइसेन्सको ल्याब परीक्षण कार्य नसकिएका कारण छपाइको काम सुरु हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक उद्धव रिजालका अनुसार जर्मनबाट आएको उक्त कार्डको ल्याब टेस्ट गर्नुपर्ने र गुणस्तर जाँच गरेपछि मात्र विभाले छपाई कार्य सुरु गर्नेछ । यातायात व्यवस्था विभागले गत आर्थिक वर्षमा जर्मनीको भूलवर्ग कम्पनीसँग स्मार्ट लाइसेन्स छपाइका लागि १२ लाख थान स्मार्ट कार्ड उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो।
सोही बमोजिम जर्मनीको भूलवर्ग कम्पनीले पहिलो चरणमा छ लाख थान स्मार्ट लाइसेन्स नेपाल पठाएको हो । ल्याब टेस्ट र गुणस्तर जाँच सकेर विभागलाई हस्तान्तरण गरे लगतै द्रुत गतिमा लाइसेन्स छपाइको काम थालिने उनको भनाइ छ । कार्डमा केही समस्या देखिए दुवै तर्फका प्राविधिक बसेर यसको समाधान गरिने उनले बताए ।
विभागका महानिर्देशक रिजालका अनुसार सम्झौता बमोजिमको थप छ लाख थान कार्ड नेपाल आउँदै छ। उनका अनुसार उक्त कार्ड अहिले नेपाल आउने चरणमा नै रहेको छ । विभागका अनुसार हाल करिब १४ लाखप्रति लाइसेन्स छपाइ गर्न बाँकी रहेको छ । नवीकरण, हराएको लाइसेन्स र नयाँ गरी दैनिक पाँच हजारको हाराहारीमा लाइसेन्सको माग रहेको छ । यस्तै विभागले १५ लाख प्रति कार्ड र एउटा स्मार्ट छपाई मेसिनका लागि विभागले नयाँ टेन्डर आश्वासन गरेको छ ।