काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशको सुरक्षाबारे प्रशासनिक निकायहरूबाट रिपोर्टिङ लिएका छन् ।
बिहीबार महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समीक्षा कार्यक्रममा महोत्तरी तथा धनुषाका सीडीओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेश प्रदेश प्रमुख र जिल्लाका सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ लिएका हुन् ।
रिपोर्टिङ सुनिसकेपछि गृहमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन निर्देशन दिएका हुन् । यी सबै योजनामा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न उनले निर्देशन दिए ।
धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्कन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक विधिबाटै नियन्त्रण गर्न उनले प्रशासनिक र सुरक्षा निकायलाई निर्देशन दिए ।
सीमामा राजस्व चुहावट नियन्त्रण गर्न, राजस्व बढाउन, अवैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको गृहमन्त्री श्रेष्ठले बताए । मिटर ब्याजीको नाममा कुनै बिचौलिया देखिए ध्यान दिएर कारबाहीमा गर्न समेत उनले निर्देशन दिए । त्यसक्रममा संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको उनले बताए ।