काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मस्यौदा विधान २०८० माथि छलफल गर्न केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाएको छ । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि शुक्रबार र शनिबार दिउँसो ३ बजे बैठक बस्न लागिएको सचिव गणेश साहले बताए ।
उनका अनुसार उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने जनाएको छ।अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको साहले जानकारी दिए ।