काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरूद्ध रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो। योसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
२२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो। क्यानडाका लागि निकोलश किर्तोनले ६८ र पर्गत सिंहले ५० रन बनाए। नेपालका लागि भने कप्तान रोहित कुमार पौडेलले ४, ललित राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सराफ र कुशल मल्लले १–१ विकेट लिए।
२ विकेटको क्षतिमा ११४ रनको अवस्थामा रहेको क्यानडाका पर्गत सिंहलाई ५० रनमा ललित राजवंशीबाट क्याच आउट गराउँदै क्याप्टेन रोहितले नेपाललाई ‘ब्रेक थ्रू’ गराएका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर २२४ रनमा अलआउट भयो। नेपालका लागि कुशल भूर्तेलले अर्धशतकीय पारी खेले। उनले ६२ रन बनाए। तथापि, जितको लागि पर्याप्त भने हुन सकेन।
आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सराफले १५ रन बनाए। सूर्य तामाङ भने १० रनमा अविजित रहे। ललित राजवंशी १ रनमा आउट भए। कप्तान रोहित पौडेल र आसिफ शेख ८–८ रनमा आउट भए। रिजन ढकाल ४ रनमा आउट भए।
क्यानडाका लागि उदय भागवानले ३, साद बिन जफर र इश्वरजोत सोहीले २–२ तथा शाहिद अहमदजाई र हर्श ठकेरले १–१ विकेट लिए।नेपाल र क्यानडाबीच ३ वटा खेलको शृङ्खलाको दोस्रो खेल पर्सि शनिवार र अन्तिम खेल सोमवार हुनेछ । सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक खेल्न लागेको हो ।