कोशी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियुक्तिको चार महिनापछि सरकारलाई पूर्णता दिएका छन् । चार मन्त्री र दुई राज्यमन्त्री थप गर्दै कार्कीले सरकारलाई पूर्णता दिएका हुन् ।
२७ असोजमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले भोलिपल्ट दुई जना मन्त्री नियुक्त गरेका थिए । १७ कात्तिकमा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीबाट एक–एक जना मन्त्री नियुक्त गरे । त्यसयता भने सरकार विस्तार गर्न सकेका थिएनन् ।
पटक–पटक सरकार विस्तारको भाका सारेका मुख्यमन्त्री कार्कीले शुक्रबार चार जना मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालय उनले आफैसँग राखेका छन् ।
माओवादी केन्द्रबाट नारायणबहादुर मगर खानेपानी सिचाई तथा उर्जा मन्त्री बनेका छन् । उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २(१) बाट प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचन भएका थिए ।
माओवादीबाटै राजेन्द्र कार्की सामाजिक विकास मन्त्री बनेका छन् । कार्की यसअघि उद्धब थापाको पहिलो कार्यकालमा विनाविभागीय मन्त्री बनेका थिए ।
नेपाली कांग्रेस सांसद प्रदिपकुमार सुनुवार स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । ओखलढुंगा प्रदेशसभा १ बाट निर्वाचित सुनुवार यसअघि उद्धव थापा दुई पटक मुख्यमन्त्री हुँदा दुवै पटक मन्त्री बनेका थिए । उनी संस्थापन समूहका हुन् ।
कांग्रेसबाट रामकुमार खत्री उद्योग,कृषि तथा सहकारी मन्त्री बनेका छन् । उनी उदयपुरको २(२) बाट निर्वाचित हुन् । डाक्टर शेखर कोइराला समूहका उनी पनि थापा नेतृत्वको सरकारमा केहि दिन विनाविभागीय मन्त्री बनेका थिए ।कोइराला पक्षकै सांसद इन्दिरा थापा र सुनिताकुमारी गुरुङ राज्यमन्त्री बनेकी छन् । थापा आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री नियुक्त भएकी हुन् । गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएकी छन् ।
कोशी प्रदेशमा यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नेपाली काँग्रेसका शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नेकपा माओवादी केन्द्रका गणेशप्रसाद उप्रेती र भौतिक पूर्वाधार विकास मन्त्रालयमा नेकपा एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जबेगू मन्त्री नियुक्त भएका थिए । शुक्रबार विस्तारसँगै कोशी प्रदेशको मन्त्रिपरिषद १० सदस्यीय भएको छ।