काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिएका छन् । छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूदे स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका हुन् ।
राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको बताएका हुन् ।संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको बताएका छन् ।
उनले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उल्लेख गरेका छन् । ‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता राष्ट्रिय विशेषता र पहिचानसमेत हो’, उनले शुभकामना सन्देशमा भनेका छन् ।
सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।
सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्याल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउने गरेका छन् ।