काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ ।बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । हिजोदेखि शुरु भएको बैठकमा विधान सम्मेलनबारे छलफल भइरहेको छ ।
हिजोको बैठकमा विधान मस्यौदामा धारणा राख्ने अधिकांश सदस्यले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित तथा समाजवादी विचारधारा प्रवाहित हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाउनुपर्नेमा पनि धेरैको मत थियो । स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्न आइतबार र सोमबार केन्द्रीय समिति बैठक बोलाइएको छ ।
पार्टीको विधान मस्यौदा स्थायी कमिटी र केन्द्रीय समिति बैठकले पास गरेपछि पार्टीको विधान सम्मेलनमा पेश हुनेछ । माओवादीको पहिलो विधान सम्मेलन फागुन १, २ र ३ गते प्रज्ञाभवन कमलादीमा आयोजना हुने भएको छ ।