काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमनका कर्मचारी र प्रहरीबिच भएको हातपातको घटनाका दोषीलाई कडा कारबाही हुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो घटना दुःखद भएको निष्कर्ष निकाल्दै त्यसका दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले सो घटनामा संलग्न असईसहित अन्य दुई जना प्रहरीलाई र अध्यागमनका कर्मचारीलाई त्यहाँबाट हटाएर विभागीय कारबाही गर्न छानबिन समितिले सुझाव दिएकाले सोही अनुसारको कारबाही प्रक्रिया अघि बढ्ने बताए। उनले अध्यागमन विभागमा सो खालको घटना फेरि दोहोरिन नदिन सरकारले त्यहाँको सबै कामकारवाही स्वचालित प्रक्रियाबाट सुरु गर्न लागिएको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘‘सिधै भन्न सकिने कुरा के हो भने व्यावसायिक आचरण भएन। मुख्य कुरा त त्यही हो। व्यावसायिक आचरण नहुँदा त्यो घटना हुन पुग्यो। हामी एक्सनको प्रक्रियामा भइसकेपछि त्यो घटना भयो। अब जे भयो, दुःखद भयो। त्यस्तो घटना दोहोरिन दिनुहुँदैन। त्यसको निम्ति छानबिन गरेर दोषीलाई कारबाही गर्ने पहिलो कुरा भनेर हामीले निष्कर्ष निकालेका छौं। एउटा पक्ष प्रहरीलाई मात्रै कारबाही भयो कि भन्ने कुरा पनि आयो। प्रतिवेदनको निष्कर्ष त्यस्तो छैन।’’
उपप्रधानमन्त्री श्रेष्ठले अध्यागमन विभाग भित्रको बेथिति हटाउनका लागि सरकारले कडा कदम चाल्ने थालेपछि त्यहाँभित्र हातहातको अवस्था आएको पनि छानबिन समितिको प्रतिवेदनको निष्कर्ष रहेको समितिलाई जानकारी गराए ।