काठमाडौं । केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को पहिलो आधिकारिक पोस्टर सार्वजनिक भएको छ । उनले भ्यालेन्टाइन-डे र सरस्वती पूजाको अवसर पारेर ‘फस्टलुक’ पोस्टर सार्वजनिक गरेकी हुन् ।
पोस्टरमा जुनेली रातमा पिपलको फेदमा अधबैँशे महिला रातो सारीमा पिठ्यूँ फर्काएर उभिएको देख्न सकिन्छ । कलात्मक पोस्टरले नामअनुसारकै ‘हरर फिल्म’ को आभास दिन्छ । फिल्ममा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारतीलगायतको अभिनय रहेको छ ।
केकीको होम प्रोडक्सनमा बन्ने यो फिल्मले सामाजिक कुप्रथाको विषय बोकेको छ । भारतीले लेखेको नाटकमा आधारित भएर फिल्म निर्माण गरिएको बुझिएको छ ।
भारतीकै निर्देशन रहेको यो फिल्मको निर्माता बद्री अधिकारी र कार्यकारी निर्माता राज घिमिरे हुन् । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्म लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । निर्माण पक्षले यसअघि नै फिल्म वैशाख १४ बाट प्रदर्शनमा आउने जानकारी दिएको थियो ।