पोखरा । १८ औँ संस्करणको सफल पोखरा म्याराथन केन्याली धावकले जितेका छन् । शनिबार सम्पन्न म्याराथनमा पहिलो, दोश्रो र तेश्रो स्थान नै केन्याली धावकहरुले जितेका हुन् । ४२.१९५ किलोमिटरको दौडमा केन्याली धावक जुलियस मुरिला वाहोमले २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पार गरे । अघिल्लो वर्षको प्रतियोगितामा उनी दोस्रो भएका थिए ।
आफ्नो दौडमा सुधार गर्दै यो वर्ष उनले उपाधिमा कब्जा जमाएका हुन् । दोस्रो पुरस्कार पनि केन्याकै इसाक किहारा कामिरीले हात पारे । उनले २ घण्टा २० मिनेट ५ सेकेन्डमा दुरी पार गरेका हुन् । यस्तै तेस्रो स्थान केन्याकै इड्वीन किप्लागेटले जिते ।
उनले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दुरी पार गरेका हुन् । नेपालका किरण बोगटी सान्त्वना बने । उनले २ घण्टा २४ मिनेट २ सेकेन्डमा दुरी पार गरेका हुन् । अघिल्लो वर्ष पनि पहिलो र दोस्रो उपाधि केन्याकै धावकले जितेका थिए ।