काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि आजै कारबाही हुने बताएका छन् । घटनाबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्राप्त हुँदा साथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही हुने बताए ।
सांसदहरूले सो घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले आजै प्रतिवेदन बुझेर अध्ययन गरेपछि आवश्यक कारबाही हुने बताएका हुन् । दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो, जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई समेत जिम्मेवार मानिएको छ । प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेसम्म मैले हरेको छैन । आज क्याबिनेट बस्दैछ, अध्ययन गरेपछि कारबाही गरिन्छ ।’
यस्तै मृतकका परिवारलाई १० लाख रुपैयाँ दिएर सरकार चुप बसेको आरोप गलत भएको बताए । सरकार गम्भीर भएर नै घटनामा संलग्नहरुलाई निलम्बन गर्नुका साथै छानबिन प्रक्रिया अगाडि बढाएको भन्दै उनले भने, ‘१० लाख दिएर चुप लागेर बसेको भन्ने गलत हो । छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो ।’