काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनमाथि छलफल सुरु गर्नुपर्ने समय आएको बताएका छन् ।
महासमिति बैठकको उद्घाटन सत्रलाई ललितपुरको गोदाबरीमा सम्बोधन गर्दै सभापति देउवाले मुलुकको शासकीय स्वरुपका मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल गर्नुपर्ने बताएका हुन् ।
संविधान जारी भएको ८ वर्षभित्र कार्यान्वयनका क्रममा देखारेका समस्या, जटिलता वा अस्पष्टताको पहिचान भइसकेको उल्लेख गर्दै उनले संविधान गतिशील दस्तावेज र यसको दीर्घजीवनका लागि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यक रहेको बताए ।
‘संविधान जनताको आशा र भरोसाको विषय बन्नुपर्छ । संविधान कार्यान्वयनका सवालमा देखिएका अस्पष्टता पहिचान गर्नुपर्छ’,सभापति देउवाले भने, ‘शासकीय स्वरूपको मूलभूत विषयमा प्रतिकुल प्रभाव नपर्ने गरी संविधान संशोधनका लागि छलफल प्रारम्भ गर्नुपर्छ ।’