काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञाशामा उनले भने, “त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।’’
पत्रकारिता जगतले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गरे ।
आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उनले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताउनुभयो । “लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलगायत रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ”, उनले भने ।
सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित भएको उल्लेख गर्दै प्रधानमनत्री प्रचण्डले सरकारले थालनी गरेको अभियानमा सञ्चार जगतबाट सहयोगको अपेक्षा गरिएको बताए । भेटमा गोरखा घर भई राजधानीमा क्रियाशील पत्रकारले जिल्लाको विकास निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।