काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहेको छ । ललितपुरको गोदावरीमा हिजो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको महासमितिको आज बन्दसत्र चलिरहेको छ ।
आजको बन्दसत्रको सुरुमा उपसभापति पूर्णबहादुर खड्काले ६५ पृष्ठको नीति प्रस्ताव पेस गरेका छन् । खड्काले प्रस्तुत गरेको नीति प्रतिवेदनमा केही नयाँ तथा राजसंस्थावादी दलहरुले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको आरोप लगाइएको छ । यस्तै, लोकरिझ्याइँ, अधिनायकवाद र पुनरुत्थानको कुचेष्टा बढेको भन्दै दृष्टिकोणबिनाको लोकप्रियताका निम्ति जे पनि बोल्न उचित नहुने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा लोकरिझ्याइँमा रम्ने पार्टीको भविष्य नभएको जनाउँदै नयाँ दल र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोक्ने दलहरूलाई अधिनायकवादीको संज्ञा दिइएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘समस्या र अप्ठ्यारालाई पन्छाएर सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नुपर्नेमा त्यसको ठीक विपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिँदै छ ।’
यस्तै, युवा लक्षित बजेट तथा कार्यक्रमलाई एकद्वार निति अबलम्बन गर्दै युवा सहभागिताका लागि बाधक देखिएका विषय तत्काल संसोधन गर्न प्रस्ताव गरिएको छ ।
यसपछि महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् भने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्नेछन्।
बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन्। महासमिति बैठक बिहीबारसम्म चल्नेछ ।