काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजी तथा साझेदारी अस्पतालहरूलाई लक्षित वर्गको निःशुल्क उपचार सेवा गर्न निर्देशन दिएको छ । महानगरले फागुन १ गतेबाट निजी तथा साझेदारी अस्पताललाई नेपालको जुनसुकै स्थानका लक्षित वर्गलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेकोले कार्यान्वयनमा ल्याउन पत्राचार गरेको हो ।
स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ को ७० (घ) र काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २८ बमोजिम काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण अस्पतालहरूले कुल शैयाको १० प्रतिशत उपलब्ध गराउनुपर्नेछ । नेपालको जुनसुकै स्थानका लक्षित वर्गलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
महानगरले जारी गरेको सूचनामा ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ स्वीकृत भएको उल्लेख छ । अस्पतालमा निःशुल्क शैया के, कति र कस्तो अवस्थामा छ भनेर www. Freehealth. Kathmandu.gov.np बाट जानकारी लिन सकिने उल्लेख छ ।‘