काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार(आज) अछाम जाने भएका छन् । आजदेखि फागुन २५ गते सम्म वैद्यनाथ धाममा लाग्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन् ।
राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत वैद्यनाथ धाम पुग्ने मूल आयोजक सिमितिले जनाएको छ । पौडेलले बिहान ११ बजे कोटिहोम (महाकुम्भ)को विधिवत् रूपले उद्घाटन गर्ने कार्यतालिका छ ।
नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम लाग्न लागेको हो ।
साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा हुने वैद्यनाथ धामको सम्पूर्ण तयारी भइसकेको कोटिहोम मुल आयोजक समितिले जनाएको छ ।