राजविराज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी समस्या सामन्तवादको निकृष्ट शोषणको रुप भएको बताएका छन् । मिटरब्याज पीडितका लागि गर्नसक्ने सबै काम सरकारले गरिरहेको भन्दै श्रेष्ठले यस विषयमा कसैले भ्रमात्मक प्रचार गर्न नहुने पनि बताए ।
सप्तरीको खड्ग नगरपालिकामा शनिबार प्रस्तावित खड्ग बहुमुखी क्याम्पसको भवन उद्घाटन र भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रममा गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितहरूलाई न्याय दिने प्रक्रिया जारी रहेको पनि बताए ।
आयोग विघटन भइसकेपछि सबै प्राप्त भएका उजुरीको फैसला हुन बाँकी रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले ७७ वटै जिल्ला प्रहरीमा मन्त्रिपरिषबाट निर्णय गरी पठाइसकिएको जानकारी दिए ।ऋणदताले साच्चै ऋण दिएको छ भने त्यो ऋण फिर्ता गर्नुपर्दैन भन्ने सरकारको दृष्टीकोण नरहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो ।
त्यस्तै, सहकारीबाट बचतकर्ताहरू पीडित भएको बताउँदै गृहमन्त्री श्रेष्ठले सबै सहकारी भत्कियो वा बिग्रियो भन्ने भाष्य रहेको बताए ।सहकारी विभागले उजुरीहरूको प्रारम्भिक छानबिन गरी छिटोभन्दा छिटो सीआईबी वा प्रहरी कार्यालयमा पठाउने र त्यँहा छिटो अनुसन्धान गर्ने प्रक्रिया अघि बढाइएको श्रेष्ठले जानकारी दिए ।