काठमाडौँ । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न शुरू भएपछि दैनिक दिउँसो चार घन्टा बन्द गरिंदै आएको नारायणगढ(मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ।
नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इन्जिनीयर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए।
तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो। ६० मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घन्टा बाटो बन्द गरिएको थियो।
गत वर्ष जम्मा २५ मिटर मात्रै पहाड काटेर काम रोकिएको थियो। यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घन्टा बाटो बन्द गरेर पहाड काट्न शुरू गरिएको थियो।