काठमाडौँ । पोल्यान्डमा एक नेपाली युवकको छुरा प्रहार गरी हत्या गरिएको छ ।आफ्नै जर्जियन सहकर्मीको छुरा प्रहारबाट साकेला-१, खोटाङका २९ वर्षीय राजेश दाहालको हत्या भएको हो ।
एउटै कम्पनीमा काम गर्ने ३५ वर्षीय जर्जियन नागरिकले दाहाललाई सँगै बस्ने होस्टलमा शनिबार राति ११ बजे छुरा प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो। मदिराले मातेका जर्जियन नागरिकले सामान्य विवादमा छुरा हानेका थिए।
राति ११ बजे छुरा प्रहारबाट ढलेका दाहालको शव प्रहरीको टोलीले आफ्नो प्रकृया पूरा गरी बिहान ४ बजे लिएर गएको दाहालसँगै काम गर्ने एक नेपालीलाई उदृत गर्दै एनआरएनए पोल्याण्डका सचिव उदयराज गिरीले जानकारी दिए। हत्यामा संलग्नसहित सहयोग गर्ने आक्रमणकारीको युक्रेनी श्रीमती र थप अर्की महिलालाई प्रहरीले गिरफ्तार गरेको छ।
दाहाल सन् २०२३ को जनवरीमा वैदेशिक रोजगारीका सिलसिलामा पोल्याण्ड गएका हुन्। दाहाल र हत्यामा संलग्नहरु पोल्याण्डको सुप्सक सहरमा रहेको एक माछा कम्पनीमा कार्यरत थिए।