काठमाडौँ । प्रतिनिधिसभाको आज फागुन १८ मा बस्ने बैठकमा सरकारले विवादित मन्त्री र विपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिने भएको छ ।
प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध भएको थियो। संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।
बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा परराष्ट्र नारायण प्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्नेछन् ।
त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री निता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । आजको बैठकमा अर्थ मन्त्री डा. प्रकाश शरण महतले 'भन्सार विधेयक, २०८० माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको 'राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उनले यो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।