काठमाडौँ । राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले सोमबार शपथग्रहण गर्दै छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिँदै छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सदस्यको शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुने जानकारी दिए । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिने भएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने प्रवक्ता गिरीले जानकारी दिए ।
सङ्घीय संसद् सचिवालयका अनुसार निर्वाचित सदस्यमध्ये एक जनाले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रेनु चन्दले मातृभाषामा शपथ लिने छिन् । उनि नेकपा ९माओवादी केन्द्र० बाट निर्वाचित भएकी हुन् ।
गत माघ ११ गते सम्पन्न निर्वाचनले राष्ट्रिय सभाका १९ सदस्य निर्वाचित गरेको थियो । रिक्त रहेको एक जना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन् । शपथग्रहण गरेका सदस्य सोमबार नै राष्ट्रिय सभाको बैठकमा सहभागी हुने छन् । राष्ट्रिय सभाको सोमबारको बैठक अपराह्न १ बजेर १७ मिनेटमा बस्ने तय गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्ने गरी सम्भावित कार्यसूची तय गरिएको छ ।