काठमाडौँ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकार र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्र गण्डकी संसदीय दलको बुधबार बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
गण्डकीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबार नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई हटाएका थिए ।
मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका हुन् । उता सुदूरपश्चिममा पनि कांग्रेस नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिए ।
हिजो मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेपछि आज सरकारको समर्थन फिर्ता लिन माओवादी केन्द्रले संसदीय दलको बैठक आह्वान गरेको थियो ।
मुख्यमन्त्री शाहले माओवादी बाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका रमेश धामी र राज्य मन्त्री गीता माललाई हटाएको थियो । आफ्ना मन्त्रीहरूलाई सरकारले बर्खास्त गरेको भोलिपल्टै माओवादीले आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको हो ।