देशभरका सहकारीको रकम हिनामिना प्रकरणमा ‘कसरी निष्पक्ष अनुसन्धान हुन्छ’ भन्दै नेपाली कांग्रेसले सरकारलाई प्रश्न गरेको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठक शुरू हुने बित्तिकै कांग्रेस सांसदले उभिएर विरोध जनाएका थिए । उनीहरू केही दिनदेखि प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ माग गर्दै विरोध जनाइरहेका छन् । सोमबारको बैठकमा पनि कांग्रेस सांसदले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद गगन थापालाई बोल्न समय दिएका थिए ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिए । थापाले भने, “सरकारलाई धन्यवाद छ। आयोगले किटान गरेको एउटा मान्छे पनि छुट्नु हुन्न । यसमा सरकारलाई हाम्रो पूर्ण साथ रहन्छ। तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ ।”
यससँगै उनले देशभरका सहकारीको रकम हिनामिनाको विषय उठाए। उनले केही बचतकर्ताको उदाहरण दिंदै पसिना बगाएर जम्मा गरेको पैसा केही व्यक्तिले हिनामिना गरेको उल्लेख गरे । “हजारौं बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना भएको छ,” सांसद थापाले थपे, “पोखराको सूर्यदर्शन सहकारीका १९ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको छ । १०० जनाले नक्कली खाता खोलेर अपचलन गरेका छन्। यसरी नक्कली खाता खोल्नेमध्ये एउटा नाम हो, रवि लामिछाने।”
गृहमन्त्री समेत रहेका लामिछानेले सूर्यदर्शनसँगै अन्य सहकारीबाट पनि पैसा लिएको पाइएको थापाले उल्लेख गरे । जीबी राई र लामिछाने सहितको समूहको जिकिर गर्दै थापाले भने, “अर्बौं रुपैयाँ अपचलन गरिएको छ, त्यसमध्ये ठूलो रकम ग्यालेक्सी टेलिभिजनमा लगानी गरिएको छ ।”
अहिले ग्यालेक्सी टेलिभिजन डुब्दा हजारौं बचतकर्ताको रकम फसेको थापाले स्मरण गराए। सहकारीका बचतकर्ताको रकम कसरी फिर्ता गराउने भन्दै थापाले प्रश्न गरे, “गृहमन्त्री आफैं मुछिनुभएको छ, यसको अनुसन्धान कसले गर्ने हो? जो मुछिएको छ, ऊ आफैंले कसरी अनुसन्धान गर्छ ?”
यस विषयमा प्रधानमन्त्री दाहाल जवाफ दिनुपर्ने थापाले माग गरे। सभामुख घिमिरेले पनि यसमा विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले जवाफ दिने विश्वास गरे। सभामुख घिमिरेले भने, “मेरो पनि गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँछु।”
सहकारीको रकम हिनामिनाको विषयलाई लिएर कांग्रेसले प्रधानमन्त्री दाहालको जवाफ माग गरिरहेको छ।