विश्व वायु गुणस्तर प्रतिवेदन २०२३ ले नेपाल संसारकै उच्च वायु प्रदूषण भएको मुलुकमा आठौं स्थानमा रहेको उल्लेख गरेको छ । गत वर्ष नेपाल १६ औं स्थानमा थियो । यसले सन् २०२३ मा नेपालको वायु प्रदूषण थप खराब भएको देखाएको छ ।
स्विट्जरल्यान्डस्थित आईक्यू एअर नामको संस्थाले सन् २०२३ मा संसारका १३४ मुलुकहरूको हावाको गुणस्तर मापन गर्ने पीएम २.५ भनिने आँखाले नदेख्ने कणको तथ्यांकका आधारमा यस्तो निष्कर्ष निकालेको हो । प्रतिवेदनले बाङ्लादेशलाई संसारकै सबैभन्दा प्रदूषित मुलुक भएको उल्लेख गरेको छ ।
संसारकै उच्च प्रदूषित मुलुकको दोस्रो स्थानमा पाकिस्तान, तेस्रोमा भारत र चौथोमा ताजकिस्तान छन्। बुर्किना फासो, इराक र संयुक्त अरब एमिरेट्स पनि उच्च प्रदूषित मुलुकको सूचीमा छन् ।
सन् २०२३ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पीएम २.५ सरदरमा ४२.४ माइक्रोग्राम प्रति घनमिटर देखिएको छ । जुन अघिल्लो वर्षको भन्दा धेरै हो। सन् २०२२ मा नेपालमा सरदर पीएम २.५ को मात्रा ४०.१ माइक्रोग्राम प्रति घनमिटर थियो ।
संसारका सफा मुलुकका तुलनामा नेपालीले श्वास फेर्ने हावा १० गुणा धेरै प्रदूषित रहेको देखिएको छ । संसारभरिका सर्वाधिक स्वच्छ हावा भएका १० मुलुक र क्षेत्रको पीएम २.५ को मात्रा सरदरमा ४.१८ माइक्रोग्राम प्रति घनमिटर छ ।
सन् २०२३ मा फ्रेन्च पोलिनेसिया, मरिसस, आइसल्यान्ड, ग्रेनडा, बर्मुडा, न्यूजिल्यान्ड, अस्ट्रेलिया, पोर्टरिको, इस्टोनिया र फिनल्याण्ड संसारकै सर्वाधिक स्वच्छ हावा भएका १० मुलुक र क्षेत्र हुन् ।
विश्व स्वास्थ्य संगठनले हावामा आँखाले नदेखिने धूल कण (पीएम २.५) को मात्रा वार्षिक औसत पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ । यस अनुसार, नेपालको हावा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा झन्डै साढे आठ गुणा बढी प्रदूषित देखिएको छ ।
नेपालमा वायु प्रदूषणका कारण वार्षिक ४२ हजार व्यक्तिको ज्यान जाने गरेको तथ्य सन् २०१९ को एउटा अध्ययनले देखाएको थियो। विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बाङ्लादेशको हावा १५ गुणा र भारतको हावा १० गुणा धेरै प्रदूषित छ ।
आईक्यू एअरका अनुसार ११४ राजधानीहरूमध्ये काठमाडौं ११औं प्रदूषित शहर हो। उक्त संस्थाले भारतको दिल्लीलाई सर्वाधिक विषाक्त हावा भएको राजधानीमध्ये पहिलो स्थानमा राखेको छ । त्यसैगरी, बाङ्लादेशको ढाका दोस्रो स्थानमा छ । संसारका ७८१२ शहरमध्ये काठमाडौं २८४औं स्थानको प्रदूषित शहर हो ।
आईक्यू एअरले दक्षिण र मध्यएशिया संसारका उच्च प्रदूषित शहरहरूको ‘घर’ भएको उल्लेख गरेको छ ।