काठमाडौँ - मेनपावर कम्पनीहरुले भिजिट भिसामा कामदार पठाउने क्रम बढेपछि निगरानी र कारवाहीका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
बिहीबार गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पठाएको निर्देशनमा भिजिट भिसामा पठाउन मेनपावरले जिल्लामा खटाएका एजेन्टहरूलाई उच्च निगरानी गर्न भनिएको छ ।
निर्देशनमा भनिएको छ ‘‘वैदेशिक रोजगार कम्पनीहरुले भिजिट भिसामा कामदार विदेश पठाउने प्रवृत्ति अन्त्य गर्न त्यस्ता कम्पनीहरुको तर्फबाट जिल्लामा खटाइने प्रतिनिधि (एजेन्ट)हरु माथि उच्च निगरानी गर्ने, गराउने’’।
यस्तै गृह मन्त्रालयले वैदेशिक रोजगारीका नाममा विना रसिद हुने लेनदेनलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयका अनुसार अब गैरकानूनी लेनदेनको गरेको पाइएमा जिल्ला प्रशासनले कानून बमोजिम कारवाहीका गर्ने छ भने आवश्यक परे अन्य निकायमा समन्वय गराउने छ ।
गृह मन्त्रालयको निर्देशनमा भनिएको छ ‘‘विदेश पठाइदिने नाममा हुने गैरकानूनी (विना रसिदका) लेनदेनका कार्य नगर्न सरोकारवालाहरुलाई सुसूचित गर्ने र गैरकानूनी लेनदेन गरेको पाइएमा कानून बमोजिम कारवाही गर्न सरोकारवाला निकायबीच समन्वय गर्ने गराउने’।