काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन शाखा (एनओसी) ले ‘फेसलेस’ सेवा दिने तयारी गरिरहेको जनाएको छ ।
अहिले विद्यार्थीले एनओसी लिनको लागि आवश्यक शैक्षिक प्रमाणपत्रहरू ‘ओरिजिनल डकुमेन्ट भेरिफाइ’ गर्न भौतिक रुपमा जानुपर्ने अवस्था छ । अहिले त्रिभुवन विश्वविद्यालयको शैक्षिक तथ्यांक (एकेडेमिक डेटा) एनओसी शाखाको पोर्टलमा एकीकृत (इन्टिग्रेट) गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
त्रिविसँगै पोखरा विश्वविद्यालयको तथ्यांक पनि एकीकरण गर्ने तयारी गरिएको छ । यी विषयको तयारी सकिएपछि अधिकांश विद्यार्थीले अनलाइनमार्फत नै एनओसीको सबै सेवा पाउनेछन् । निमित्त शाखा प्रमुख वासुदेव वस्ती भन्छन् ‘अब धेरै विद्यार्थीलाई फेसलेस सेवा दिने तयारीमा छौं ।’
त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी संख्या बढी भएको र एनओसी लिने विद्यार्थीको चाप पनि त्रिवि कै बढी भएकोले त्रिविको ‘डेटा इन्टिग्रेट’लाई प्राथमिकता दिएको वस्तीले बताए । उनका अनुसार शाखा र त्रिविबीच संवाद भइरहेको र दुवै पक्षका प्राविधिकहरूलाई अध्ययन गराएर कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ ।