काठमाडौं - नेपाल पुलिस क्लबले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो बनेको छ ।
शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले गण्डकीलाई २५–१६, २५–२० र २९–२७ ले हरायो ।
सेमिफाइनलमा नेपाल पुलिस क्लब शुक्रबार त्रिभुवन आर्मी क्लबसँग ३–२ ले पराजित भएको थियो । गण्डकी टिपटप हेल्प नेपालसँग ३-० को सोझो सेटमा पराजित हुँदै बाहिरिएको थियो ।
महिलातर्फ शुक्रबार न्यू डायमण्डलाई ३–१ ले हराउँदै एपीएफ तेस्रो बनेको थियो । आज महिला र पुरुष दुबैतर्फ फाइनल खेलहरु हुनेछन् ।
महिलातर्फ नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबबीच दिउँसो १ बजेपछि हुनेछ । पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर,स्पाईकर,लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।