काठमाडाैँ - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एउटा कागजको चिर्कटोको आधारमा संसद अवरुद्ध नगर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
काठमाडौंमा पार्टीका नेता कार्यकर्तालाई सम्बोधा गर्ने क्रममा लामिछानेले कम्तिमा रास्वपा प्रतिपक्षीमा हुँदाको जस्तो प्रतिपक्षी बन्न सुझाव समेत दिएका छन् ।
ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई प्रहरीले ड्रयरमा राखेको कागजमा संसद अवरुद्ध गर्नुभन्दा प्रतिपक्षीको भूमिका निर्वाह गर्न सुझाव दिए ।
उनले भने, ‘प्रतिपक्षको रुपमा रास्वपाले के गरेको थियो त्यति मात्र गरिदियोस् । प्रतिपक्षी हुँदा हाम्रा २०/२१ जना सांसद कस्तो प्रतिपक्षी बनेको थिए ? कम्तिमा पनि एउटा प्रतीपक्ष त्यत्तिको त बनोस् । त्यत्रो ठूलो दल छ, त्यत्तिका धेरै सांसद छन् । कम्तिमा हामीलाई र्याखर्याख्ती पारोस् । विषयमा र्याखर्याख्ती पारोस् कांग्रेसले, मुद्दाहरुमा र्याखर्याख्ती पारोस्, कानुनहरु मिलाउने कुरामा र्याखर्याख्ती पारोस् । नत्र एउटा कागजको चिर्कटमा संसद अवरुद्ध गरेर आफ्नो यति लामो राजनीतिक इतिहासलाई बिटुलो पार्ने काम नेपाली कांग्रेसले नगरोस् । म नेपाली कांग्रेसलाई विनम्रतापूर्व अनुरोध गर्न चाहन्छु ।’