चितवन - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । हाेली मनाउन चितवन पुगेका लामिछानेले पत्रकारहरुसँग कुराकानी गर्दै सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए ।
उनले भने , “सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।” देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो ।
सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गराउने बताए । गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए ।
सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उनको भनाइ थियो । उनले भने , “काहीँ कतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो । निर्दोष नफसोस् दोषी नउम्यिोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यहीअनुसार काम हुन्छ ।” प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने लामिछानेले बताए ।
फरक प्रसङगमा बोल्दै गृहमन्त्री लामिछानेले चेपाङ् समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने बताए । विज्ञहरु र सरोकारवाला प्रतिनिधिसँगको छलफलबाट यसवर्ष बजेटमै राखेर काम गर्न लागिएको लामिछानेकाे भनाइ थियाे ।