काठमाडौं - क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने भएको छ ।
मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो ।
यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो ।
क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन् ।
क्रिकेटर लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन् भने पीडित गौशाला २६ ले आफूलाई बालिग ठहर गरी लामिछानेलाई कम सजाय गरिएको भन्दै थप सजायको माग गरेकी छन् ।
जिल्ला अदालतले सम्बन्धित स्थानीय तहबाट जन्मदर्ता सम्बन्धी कागजात फेरि झिकाउने भनी आदेश दिइसकेको थियो ।