नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।
निवास बूढानीलकण्ठमा बस्ने गरी सभापति देउवाले बैठक बोलाएका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बुधबार दिउँसो २ बजे बूढानीलकण्ठमा बस्ने जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसदको वैशाख २८ गतेदेखि सुरू हुने अधिवेशन लगायतबारे छलफल हुनेछ।
कांग्रेसले बिहीबारका लागि संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक पनि राखेको छ।
सचेतक सुशीला थिङले दिएको जानकारीअनुसार बिहीबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्नेछ।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।