टी-२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आइसिसी टी-२० विश्वकपको पहिलो संस्करण सन् २००७ मा भएको थियो। दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको टी-२० विश्वकप महेन्द्रसिंह धोनीको नेतृत्वमा भारतले पाकिस्तानलाई पाँच रनले पराजित गर्दै उपाधि जितेको थियो।
त्यससँगै टी-२० विश्वकपका आठ संस्करण सकिएका छन्। आगामी जुन १ देखि वेस्ट इन्डिज र अमेरिकामा नवौं संस्करणको आइसिसी टी-२० विश्वकप हुँदैछ।
जुन विश्वकपमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। नेपालले सन् २०१४ पछि विश्वकप खेल्दै आफ्नो दोस्रो उपस्थिति जनाउँदैछ।
टी-२० विश्वकपमा अहिलेसम्मका सबै संस्करण खेल्ने दुई खेलाडी मात्र छन्। भारतका कप्तान रोहित शर्माले अहिलेसम्म आठै संस्करणका टी-२० विश्वकप खेलेका छन्। उनी नवौं संस्करणमा भारतको टोलीको नेतृत्व गर्दैछन्।
यस्तै बंगलादेशका शकिब अल हसनले पनि सबै टी-२० विश्वकप खेलेका छन्। स्टार अलराउन्डर शकिब यसपटक पनि बंगलादेशको टी-२० टोलीमा पर्ने पक्का जस्तै छ।
अहिलेसम्म सबै टी-२० विश्वकप खेल्ने खेलाडी
रोहित शर्मा (भारत) : २००७,२००९, २०१०, २०१२, २०१४, २०१६, २०२१, २०२२
शकिब अल हसन (बंगलादेश) : २००७,२००९, २०१०, २०१२, २०१४, २०१६, २०२१, २०२२
टी-२० विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि रोहित शर्माकै नाममा छ। उनले आठ संस्करणमा कुल ३९ खेल खेलेका छन्। दोस्रो स्थानमा रहेका शकिबले ३६ खेल खेल्दा श्रीलंकाका तिलकरत्ने दिलसानले ३५ खेल खेलेका थिए। वेस्ट इन्डिजका ड्वायन ब्राभो, पाकिस्तानका शाहिद अफ्रिदी, पाकिस्तानकै शोएब मल्लिक र अस्ट्रेलियाका डेभिड वार्नरले ३४-३४ खेल खेलेका छन्।
टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान भारतका विराट कोहलीको नाममा छ।कोहलीले अहिलेसम्म ११४१ रन बनाइसकेका छन्। यस्तै दोस्रो स्थानका श्रीलंकाका माहेला जयवर्धनेले १०१६ रन र तेस्रो स्थानमा रहेका क्रिस गेलले ९६५ रन बनाएका छन्। भारतका रोहित शर्मा (९६३) चौथो र श्रीलंकाका दिलसान (८९७) पाँचौं स्थानमा छन्।
टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा शकिब (४७ विकेट) छन्। बायाँ हाते स्पिनर शकिबले यो संस्करणमा ५० विकेट पूरा गर्ने विश्वास गरिएको छ। दोस्रो स्थानमा पाकिस्तानका शाहिद अफ्रिदी (३९) र तेस्रो स्थानमा श्रीलंकाका लासिथ मालिंगा (३८) छन्।
टी-२० विश्वकपमा एकै इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान न्युजिल्यान्डका ब्रेन्डन म्याकुलमको नाममा छ। उनले २०१२ मा बंगलादेशविरूद्ध ५८ बलमा १२३ रन जोडेका थिए। दोस्रो स्थानमा रहेका क्रिस गेलले २००७ मा दक्षिण अफ्रिकाविरूद्ध ५७ बलमा ११७ रन बनाएका थिए।
सर्वाधिक छिटो शतकको रेकर्ड पनि क्रिस गेलकै नाममा छ। उनले सन् २०१६ मा इंग्ल्यान्डविरुद्ध ४७ बलमा शतक प्रहार गरेका थिए। त्यसअघि उनले २००७ मा दक्षिण अफ्रिकाविरूद्ध ५० बलमा शतक पूरा गरेका थिए।
टी-२० विश्वकपमा धेरै छक्का प्रहार गर्ने कीर्तिमान पनि गेलकै नाममा छ। उनले ६३ छक्का प्रहार गर्दा भारतका रोहित शर्माले ३५ रन छक्का प्रहार गरेका छन्। गेलको कीर्तिमान भेट्टाउन रोहितलाई यो संस्करणमा पनि कठिन पर्ने देखिन्छ।
टी-२० विश्वकपमा उत्कृष्ट बलिङको कीर्तिमान श्रीलंकाका अजन्था मेन्डिसको नाममा छ। उनले २०१२ मा जिम्बावेविरुद्ध ४ ओभरमा ६ विकेट लिँदा ८ रन मात्र दिएका थिए। दोस्रो स्थानमा रहेका श्रीलंकाकै रंगना हेराथ सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध ३.३ ओभरमा ५ विकेट लिँदा ३ रन मात्र खर्चिएका थिए। तेस्रो स्थानमा पाकिस्तानका उमर गुल छन्। उनले २००९ मा न्युजिल्यान्डविरुद्ध ५ विकेट लिएर ६ रन मात्र दिएका थिए।
टी-२० विश्वकपमा विकेटकिपरको रुपमा बढी विकेट लिन योगदान दिने भारतका महेन्द्रसिंह धोनी हुन्। उनले २१ क्याच र ११ स्टमपिन गरेका थिए। दोस्रो स्थानमा रहेका पाकिस्तानका कमरान अकमलले १२ क्याच र १८ स्टमपिन गरेका थिए।
फिल्डरको रुपमा बढी क्याच लिने कीर्तिमान दक्षिण अफ्रिकाका एबी डी भिलियर्सको नाममा छ। उनले २३ क्याच लिँदा दोस्रो स्थानमा अस्ट्रेलियाका डेभिड वार्नरले २१ क्याच लिएका थिए।