जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन्।
मधेसी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै यादवले अतृप्त आत्माहरुको हतास मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका हुन्।
तर पार्टी फुटाउँदैमा युद्ध जितेको सोच्नु भ्रम हुने पनि उनले बताए। ‘जसपा नेपालविरुद्ध गरिएको षड्यन्त्र स्वरुप २/४ जनालाई फुटाएर लग्दैमा रण जितेको सोच्नु भ्रम मात्रै हो,’ उनले भने।
पार्टीबाट केही लोभीहरु अलग्गिँदैमा जसपा नेपाल कमजोर नहुने बताउँदै अध्यक्ष यादवले अब जसपा नेपाल थप गतिका साथ अगाडि बढ्ने बताए।
उनले मधेसको मुद्दा, संघीयता संस्थागत लगायतका मुद्दालाई कमजोर पार्ने उद्धेश्यले पहिल्यैदेखि षड्यन्त्र हुँदै आएको पनि बताए।
‘सोही षड्यन्त्र स्वरुप अतृप्त आत्माहरुलाई प्रयोग गरेर जसपा नेपाल माथी मात्रै नभई मधेसमाथि प्रहार गरिएको हो । यहाँबाट भागेकाहरु उतैबाट फुटेर आएका थिए, त्यही गएका छन् अब कहाँ जान्छन् ठेगान छैन, जता स्वार्थ पूर्ती हुन्छ उतै लाग्छन् होला,’ उनले भने।
जसरी शरीर स्वस्थ रहनका लागि विकार निकाल्नुपर्छ राम्रै विकार निक्लिएर गएको छ अब स्वच्छताका साथ पार्टी थप वेगले अगाडी बढ्नेछ ।’
अध्यक्ष यादवले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने बताउँदै सोको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए। (न्युज एजेन्सी नेपालबाट)