दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई यो आईपीएल सिजनका तीन खेलमा स्लो ओभर रेटका कारण शनिबार एक खेलको प्रतिबन्ध लगाइएको छ । भर्चुअल सुनुवाइपछि यो निर्णय गरिएको हो ।
दिल्ली क्यापिटल्सले मे ७ मा राजस्थान रोयल्स, ३ अप्रिलमा कोलकाता नाइट राइडर्स र २१ मार्चमा चेन्नई सुपर किंग्सविरुद्ध स्लो ओभर खेलेको थियो। जसका कारण पन्तलाई कप्तानको रूपमा आईपीएल आचारसंहिता उल्लङ्घन गरेको आरोप लागेको थियो ।
उनलाई राजस्थान रोयल्सविरुद्धको खेलका लागि ३० लाख जरिवाना पनि गरिएको छ । यसअघि कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध २४ लाख जरिवाना गरिएको थियो भने चेन्नई सुपर किंग्सविरुद्ध १२ लाख रुपैयाँ जरिवाना लगाइएको थियो।
आईपीएलको आचारसंहिता अनुसार स्लो ओभर रेटमा कुनै टोलीका कप्तान पहिलो पटक दोषी पाइएमा १२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ । यदि कप्तानले सिजनमा दोस्रो पटक स्लो ओभर रेटको कसुर गरेमा २४ लाख जरिवाना हुनेछ । तेस्रो पटक गल्ती गरे कप्तानलाई एक खेलको प्रतिबन्ध र ३० लाख रुपैयाँ जरिवाना हुनेछ ।
दिल्ली अझै प्लेअफको दौडमा छ । दिल्ली १२ खेलबाट १२ अङ्क जोडेर अङ्क तालिकाको पाँचौँ स्थानमा छ । दिल्ली क्यापिटल्सले आइतबारको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछ । मे १२ मा हुने यस खेलमा दिल्ली क्यापिटल्सको टोली पन्तविनाको हुनेछ ।