राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब संसदीय छानबिन समिति नबन्ने बताएको छ।
बिहीबार प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षी दलबीच धकेलाधकेलको स्थितिपछि स्थगित भएको संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै रास्वपा सांसद मनिष झाले अब संसदीय छानबिन समिति नबन्ने बताएका हुन्।
'उहाँहरूलाई एउटा माग लिएर, एउटा बुँदामा आउनुस्, एउटा ठाउँमा उभिनुस् भन्ने हाम्रो अनुरोध थियो। तर अब संसदीय छानबिन समिति बन्दैन,' रास्वपा सह-प्रवक्ता समेत रहेका झाले भने।
उनले अब कांग्रेस पदाधिकारीहरूको पनि फाइल खोल्ने सर्तमा मात्रै संसदीय समिति बन्ने चुनौती समेत दिए।
सहकारी प्रकरणमा आफ्ना सभापति (रवि लामिछाने) देखिए रास्वपाका सबै सांसदहरू राजनीति छाड्न तयार रहेको सांसद झाले बताए।
'कांग्रसले त्यो हिम्मत गर्न सक्छ? हामी सक्छौं। उहाँले एक्लै राजनीति छोडिदिन्छु भन्नुभएको छ। त्यस्तो देखिए हामी सबै राजनीति छाडिदिन्छौं,' उनले भने, 'कांग्रेस आफ्नो सभापतिको सबै छानबिन गर्न, उसको छोराको, श्रीमतीको पनि छानबिन गर्ने हिम्मत राख्न सक्छ? यो च्यालेन्ज भयो! समिति बन्दैन अब।'
यी सबै विषयमा कांग्रेस तयार भएको अवस्थामा छानबिन समिति बनाउन रास्वपा तयार हुने उनले बताए। सांसद झाले समिति बनाउन कांग्रेससँग आफूहरूको दुइटा मात्रै सर्त रहेको बताए।
'हामीलाई तपाईंले जहाँ प्रश्न सोध्नुभयो, त्यहीँ जबाफ दिन दिनुस्। अनि, चार वटा मात्रै सहकारी नहेरिदिनुस्। ३१ वटा सहकारी छन्। तपाईं संलग्न सरकारले १६ सहकारी संकटग्रस्त भनेको छ। त्यो सबैको छानबिन गरौं भनेका हौं,' उनले भने, 'दुइटा सर्त नमान्ने, बोल्न पनि नदिने! प्रश्न मात्र सोधेर हुन्छ?'
उनले थप भने, 'साढे दुई घन्टा अगाडि हामीले दुई वटा सर्त मानिदिनुस्, हामी समिति बनाउन तयार छौं भनेका थियौं। अब समिति बन्दैन। यसको निकास त्यही व्यक्तिलाई सोध्नुस्!'