एक याचक सिसाकलमले भरिएको एउटा कचौरा लिएर कुनै रेल्वे स्टेसनमा बसेका थिए । एक युवा व्यवसायी सोही स्थान हुँदै कतै गइरहेका थिए । उनले कचौरामा ५० रुपैयाँ हालिदिए । तर, एउटै सिसाकलम लिएनन् ।
उनी रेल चढे र आफ्नो डिब्बामा पुगे । डिब्बाको ढोका बन्द भइसकेको थिएन । युवा व्यवसायी अचानक रेलबाट उत्रिएर ती याचककहाँ पुगे, केही सिसाकलम उठाए र भने— म केही सिसाकलम लिन्छु । मैले तपाईंलाई दिएको रकम यसको मूल्य भयो । आखिर तपाईं पनि त एक व्यापारी हो र म पनि । रेल गुड्न लागेको संकेतपछि ती व्यवसायी हतारहतार रेलमा चढे र गन्तव्यतिर लागे ।
केही वर्षपछि ती व्यवसायी एक भोजमा सहभागी भए । भोजमा ती याचक पनि उपस्थित थिए । व्यवसायीले उनलाई चिनेनन् । तर, याचकले उनलाई तत्काल चिने । याचक व्यवसायीको नजिक पुगे र उनलाई नमस्कार गर्दै भने— सायद तपाईंले मलाई चिन्नुभएन होला । तर, म तपाईंलाई राम्ररी चिन्छु । याचकले आफ्नो जीवनमा घटेको सोही पुरानो घटना व्यवसायीलाई सुनाए । व्यवसायीले भने— हो, तपाईंले सम्झाएपछि मैले सो घटना राम्रैसँग सम्झिएँ । त्यतिखेर तपाईं भिख माग्दै हुनुहुन्थ्यो । तर, अहिले त टाई, सुटमा ठाँटिनुभएको छ नि ?
याचकले जवाफ दिए— सायद तपाईंलाई थाहा नहोला, त्यस दिन तपाईंले मेरा लागि के गर्नुभयो भनेर । मलाई दया गर्नुको साटो तपाईं मसँग सम्मानसाथ प्रस्तुत हुनुभयो । तपाईंले कचौराबाट केही सिसाकलम उठाएर भन्नुभयो— मैले दिएको रकम तपाईंको सिसाकलमको मूल्य हो । आखिरमा तपाईं पनि एक व्यापारी हुनुहुन्छ र म पनि ।
तपाईं रेल चढेर गइसकेपछि मैले धेरैबेरसम्म सोचेँ । म यहाँ के गर्दै छु ? म किन भिख माग्दै छु ? जस्ता प्रश्नले मलाई घोच्न थाले । त्यसपछि मैले आफ्नो जिन्दगीलाई सुधार्न राम्रो काम गर्ने संकल्प गरेँ । मैले आफ्नो थैलो उठाएँ र घरघरमा पुगेर सिसाकलम बेच्न थालेँ । बिस्तारै मेरो व्यापार बढ्दै गयो । म कापी, पुस्तक आदि बिक्री गर्न थालेँ । आज पूरै सहरमा म यी सामग्रीको सबैभन्दा ठूलो थोक विक्रेता बनेको छु । मेरो सम्मान फर्काउन र व्यवसायमा लाग्न बाटो देखाइदिएकोमा म तपाईंलाई हृदयदेखि नै धन्यवाद दिन्छु । किनकि, सो घटनाले मेरो जीवन बदलिदियो ।