अटिजम स्नायुसम्बन्धी समस्या हो, जुन बालबालिकाको विकासका क्रममा देखिने गर्छ । यसलाई ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । तर यो कुनै प्रकारको रोग होइन, मस्तिष्कको विशेष अवस्था मात्र हो । अटिजम भएका बालबालिकामा सामाजिक सञ्चार र सामाजिक अन्तरक्रियामा समस्या, सिकाइको क्षमता कमी हुनुका साथै व्यवहार एकोहोरो हुन्छ ।
कारण
अहिलेसम्म ठ्याक्कै यही कारणले अटिजम भएको हो भन्न सकिंदैन । तर पहिलो सन्तानमा अटिजमको समस्या भएमा दोस्रो सन्तानमा पनि अटिजम हुनसक्छ । यसबाहेक अटिजम वंशाणुगत कारण पनि हुनसक्छ । कहिलेकाहीं गर्भावस्थामा केही समस्या भएमा, नौ महिना नपुग्दै शिशु जन्मिएमा र कम तौलको शिशु भएमा पनि अटिजमको समस्या हुनसक्छ । तर यसबारे आधिकारिक पुष्टि भने भएको छैन ।
लक्षण
यसमा बच्चामा उमेरअनुसार बोली नफुट्ने, बच्चामा एक्लै खेल्न मन पराउने, आँखा जुधाएर बोल्न नसक्ने, आफू समान उमेर समूहका साथीसँग घुलमिल हुन मन नपराउने, एकोहोरो बस्न मन पराउने, कुराकानी नगर्ने, एउटै कुरा दोहोर्याइरहने, बोलाउँदा पनि प्रतिक्रिया नदिने, अस्वाभाविक रूपमा हाँस्ने वा कराउने इत्यादि लक्षण पर्छन् । अटिजमको लक्षण प्रायः तीन वर्षभित्र देखिन्छ ।
विश्व स्वास्थ्य संगठनले पहिला अटिजमलाई विभाजन गरेपनि हाल सबै प्रकारका अटिजम, अटिजम स्पेस्ट्रम डिसअर्डरभित्रै पर्छ ।
उपचार
अटिजमको अहिलेसम्म कुनै औषधि उपचार छैन । यद्यपि अटिजमको लक्षण व्यवस्थापन वा कम गर्न विभिन्न थेरापी गर्न सकिन्छ । न्याच्युरालिस्टिक डेभलपमेन्ट बिहेवियर इन्टरभेन्सन (एनडीबीआई) थेरापी गरिन्छ ।
अटिजम भएका बालबालिकाका लागि मुख्य थेरापीहरु
व्यवहार थेरापी : सामाजिक व्यवहार, कुराकानी र सञ्चार, दोहोर्याउने व्यवहारमा परिवर्तन आदि गर्नका लागि अप्लाइड बिहेवियर एनालाइसिस (एबीए)को प्रयोग गरिन्छ, जसले बालबालिकाको मनोबल बढाउँछ ।
स्पिच थेरापी : बच्चाहरुमा बोल्न सिकाउने, कुराकानी गर्न सिकाउने, आत्मविश्वास जगाउने, अरुसँग समायोजन गर्न सक्षम बनाउने आदिका लागि विशेष अभ्यास गराउने विधिबाट अटिजम बालबालिकामा अनेक विधि सिकाउने गरिन्छ ।
अकुपेसनल थेरापी : दिनभरका गतिविधिहरु जस्तै, खानेकुरा पकाउन लगाउने, विभिन्न प्रकृतिका लुगा लगाउन दिने, कार्यक्रम सञ्चालन गर्न सिकाउने, खेल्न सिकाउने आदि अनेक कार्यमा संलग्न गराइन्छ । यसरी नै सेन्सरी इन्ट्रिग्रेसन ट्रेनिङका रुपमा प्रकाश एवं दृश्य, ध्वनि, स्पर्श, गन्धलगायत अन्य कुरालाई प्रयोग गरी उपचार गरिन्छ । खेल चिकित्साका रुपमा विभिन्न खेल खेलाएर र हेराएर उपचार गरिन्छ ।
फिजियोथेरापी : फिजियोथेरापीमा प्रयोग गरिने विभिन्न विधिहरु जस्तै, व्यायाम, म्यानुपुलेसन, उपकरणको प्रयोग मार्फत अटिजम भएको बच्चाको समस्या समाधान गर्ने प्रयास गरिन्छ ।
कला थेरापी : चित्रकला, स्थापत्य कला, रंगहरुको प्रयोग, मूर्तिकलाका रुपमा विभिन्न आकारमा माटो वा अन्य वस्तु बनाउन र उनीहरुमा सिर्जनशील विकास गराउन सकिन्छ । यसरी नै अभिनय आदिको माध्यमले पनि उनीहरुमा शिक्षा दिएर व्यवहारमा परिवर्तन, प्रतिभाको विकास र उपचार गर्न सकिन्छ ।
विश्व अटिजम दिवसको इतिहास
संयुक्त राष्ट्र संघले स्थापनाकालदेखि नै अपाङ्गता भएका व्यक्तिको अधिकार र हकको सुविधाको लागि काम गर्दै आएको छ । अटिजम भएका व्यक्तिहरूलाई सहज जीवन प्रदान गर्न संस्थाले १ नोभेम्बर २००७ मा एक प्रस्ताव पारित गरेको थियो ।
सो प्रस्तावमा अटिजम भएकाहरुले भेदभाव र चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख छ, जुन कतिपय देशमा मान्यता दिइँदैन । अटिजम भएका व्यक्तिको सहज जीवनको लागि सबैभन्दा पहिले यो समस्याबारे जनचेतना जगाउनुपर्ने संस्थाले जनाएको छ ।
संयुक्त राष्ट्र संघको महासभाको यो प्रस्ताव १८ डिसेम्बर २००७ मा स्वीकृत भएको थियो । त्यसैले हरेक वर्ष अप्रिल २ मा विश्व अटिजम जागरूकता दिवस मनाइन्छ ।