जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनबाट एक अध्यक्ष, एक सहअध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव र एक कोषाध्यक्ष गरी १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने भएको छ।
जसपा नेपालले महाधिवेशनबाट सात वटा सामाजिक समूहहरू; आदिवासी जनजाति, मधेसी, खस क्षेत्री र ब्राह्मण, थारू, दलित, मुस्लिम, अपांगता भएका र अल्पसंख्यक समुदायका प्रतिनिधिहरू निर्वाचित गर्ने छ। हरेक समूहबाट ३३ प्रतिशत महिला र ४० प्रतिशत युवाहरू निर्वाचित हुने पार्टीले जनाएको छ।
यसरी निर्वाचन गर्दा आदिवासी जनजाति समूहबाट तीस जना, मधेसी समूहबाट १६ जना, खस क्षेत्री र ब्राह्मण समूहबाट ३३ जना, थारूबाट ६ जना, दलितबाट १४ जना, मुस्लिमबाट ४ जना अपांगता भएका र अल्पसंख्यक समूहबाट तीन जना निर्वाचित गरिने छ।
यसरी सामाजिक समूहबाट ३५ जना महिला र ४२ जना युवा निर्वाचित हुनेछन्।
जसपा नेपालले सामाजिक समूहबाट १०६ र खुला प्रतिस्पर्धाबाट ४५ गरी १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ। जसपाको महाधिवेशन आगामी जेठ २८ गतेदेखि जनकपुरमा हुने भएको छ।