काठमाडौं - सहकारी ठगीका सन्दर्भमा संसदीय समिति बनाउने विषयले मूर्तरूप लिन नसकेपछि संसद्मा आइतबार पनि तनाव उत्पन्न भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संसद्को गतिविधि प्रभावित भएपछि सभामुख देवराज घिमिरेले मार्सल प्रयोग गरेर संसद्को गतिविधि अघि बढाएका छन् । विशेष र शून्य समयको कार्यसूची हटाएर सभामुखले सदनको अन्य कारबाही अघि बढाएका छन् ।
जसअनुसार अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण सदनमा प्रस्तुत गरेका छन् । अर्थमन्त्री पुनलाई रोष्टममा जानबाट कांग्रेसका सांसदहरुले रोकेपछि केहीबेर धकेला धकेल भएको थियो । लगत्तै मर्यादापालकहरुले कांग्रेसका सांसदहरूलाई रोकेका थिए । त्यसपछि कांग्रेसका सांसदहरू बेल घेरेर विरोध जनाई रहेका छन् भने सभामुखले मार्सल लगाएर सदनको गतिविधि अघि बढाएका छन् ।
वर्षमान पुन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम पास गर्ने प्रस्ताव सदनमा प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीको प्रस्ताव माथि छलफल जारी छ ।