काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु जग्गाको नितिगत घोटालामा सहभागी भएको आरोप लगाएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै बालेनले १० हजार करोडको गिरिबन्धुकाे जग्गा घोटाला कान्ड लुकाउन ओलीले राज्य शक्ति लगाएर न्युरोडमा फुुटपाथको काम रोकेर सडक बनाउन लागेको उल्लेख गरेका छन् । साथै जनतामा भ्रम छर्ने कार्य नगर्न आग्रह समेत गरेका छन् ।
एकाबिहानै सडक विभागले फुटपाथ पुर्न पुगेपछि बालेनले अब बल्ल देश बन्ने भयो भन्दै ब्यांग्य समेत गरेका छन् । उनले लेखेका छन् 'अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।'
यस्तै उनले नयाँ राजनीतिक दलहरुलाई समेत ब्यांग्य गर्दै कोहि साँच्चैको नयाँ आउला र पाइल पल्टाउला भनेका छन् । उनले लेखेका छन् 'अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त पहिले पनि जेल बस्नुभएको हो । धन्यवाद,” ।
बालेनको स्टाटस यस्तो छ ः "१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।
झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ू भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।
यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।
अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।"