काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन हुने हल्लामात्रै भएको बताएका छन् । उनले ढुक्क भएर काम गर्न आईजीपीहरूलाई निर्देशन दिएको पनि बताए ।
यसअघि प्रहरी महानिरीक्षक परिवर्तन हुने हल्ला चलेको थियो । त्यसबारे आज चितवनमा पत्रकारहरूले प्रधानमन्त्री प्रचण्डसँग पनि जिज्ञासा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले आईजीपी परिवर्तनको हल्लामात्रै चलेको बताए ।
‘३ वटै आईजीपी बोलाएर केही परिवर्तन हुँदैन, ढुक्क हुनुस्, काम गर्नुस् भनेको छु’, प्रचण्डले भने, ‘त्यही स्प्रिटमा काम गर्नुस् भनेको छु । आईजीपी परिवर्तन हुँदैन । त्यो हल्लामात्रै हो ।’
यसअघि नेपाल प्रहरीका आईजीपी परिवर्तन हुने भन्नेबारे विभिन्न मिडियामा समाचार प्रकाशन भएपछि नेपाल प्रहरीले शनिबार एक विज्ञप्तिसमेत प्रकाशन गरेको छ ।