काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्ने भएको छ । आर्थिक वर्षको अन्तिममा सरकारले बढाएका खर्चसँगै निक्षेप लगातार बढ्ने तर, कर्जा विस्तार नहुँदा बैंकहरू अधिक तरलताको दबाबमा छन् ।
अधिक तरलताको दबाब हुँदा राष्ट्र बैंकले विभिन्न औजार मार्फत तरलतना खिचिरहेको छ । सातामा २ पटक स्थायी निक्षेप सुविधाको व्यवस्था गर्दा पनि अन्तरबैंक ब्याजदर करिडोरको सीमाभित्र राख्न समस्या भएपनि निक्षेप संकलन उपकरण मार्फत पनि तरलता खिचिरहेको छ ।
बिहीबार पनि निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब तरलता खिच्ने भएको हो । नेपाल राष्ट्र बैंकको ५ असारसम्मको तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट खिचेको अधिक तरलता राष्ट्र बैंकसँग १ खर्ब ८३ अर्ब ७० करोड छ ।