पर्वत, १२ फागुन - कुश्मा–बलेवा यान्त्रिक पुल बन्द भएको छ। नियमित मर्मत गर्नका लागि गत शुक्रबार दिउँसोदेखि यान्त्रिक पुल बन्द गरिएको हो।
पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठामा समस्या देखिएपछि मर्मतका लागि अनिश्चितकालसम्म सेवा बन्द गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।
यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारणले सास्ती पाएका छन्। पर्वतको सदरमुकाम कुश्माबाट बागलुङ नगरपालिका–१४ बलेवासम्म जोडिएको उक्त पुलबाट दैनिक ५ सय जना सर्वसाधारण आवातजावत गर्दै आएका छन्। पुलका डब्बा तान्न प्रयोग हुने मसिना लठ्ठा १/१ वर्षमा परिवर्तन गर्नुपर्ने भएकाले बन्द गरिएको श्रेष्ठले बताए।
पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा सञ्चालक केदारनाथ शर्माले यसपटक २५ महिनापछि मात्रै लठ्ठामा समस्या देखिएपछि जोखिम उठाउनुभन्दा बन्द गरेर मर्मत गर्न लागिएको जानकारी दिए। पुल मर्मत गर्न कम्तीमा एक हप्ता लाग्ने अनुमान छ। भारतबाट सोमबारसम्ममा प्राविधिक आइपुग्ने र मर्मतको काम थालिनेछ।
यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारण १ घन्टाकाे घुमाउँरो बाटो यात्रा गरी बडागाउँ–कैया झोलुङ्गेपुल प्रयोग गरी आवातजावत गर्न बाध्य भएका छन्। यो पुल दक्षिणी बागलुङका एक दर्जन गाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन्। पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेका छन्।
विसं २०६८ मा कुश्मा–बलेवा यान्त्रिक पुल करिब रु. ४ करोडको लागतमा बनाइएको हो। एक डब्बामा एक पटकमा ८ गरी दुई डिब्बामा १६ मानिस आवातजावत गर्दै आएका छन्।