अस्ट्रेलियाको सिड्नीस्थित नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स) क्याम्पसले स्नातक तहमा ‘सोसियल वर्क’ पढाउने स्विकृती पाएको छ। न्याप्सको सिड्नी क्याम्पसले ‘सोसियल वर्क’ पढाउनका लागि क्राइकस स्वीकृति प्राप्त गरेको हो।
क्राइकस स्विकृती पाएपछी क्याम्पसमा बजार व्यवस्थापक मुकेश धमलाले खुशी व्यक्त गरे। ‘‘यो एउटा महत्वपुर्ण उपलव्धी हो,’’ उनले भने, ‘‘यसले क्याम्पसको उच्च गुणस्तरीय शिक्षा र विश्वभरका सामाजिक विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीलाई फाईदा पुर्याउछ।’’ न्याप्स सिड्नी क्याम्पसको बि.एस.डब्ल्यू कार्यक्रम विद्यार्थीहरूलाई विभिन्न सामाजिक कार्यहरूमा अर्थपूर्ण प्रभाव पार्न आवश्यक सीप र ज्ञान प्रदान गर्न डिजाइन गरिएको उनको भनाइ छ।
धमलाले यस कार्यक्रममा अन्तरराष्ट्रिय विद्यार्थीहरुलाई स्वागत गर्न आतुर रहेको प्रतिक्रीया दिए। यसले आफूहरूको क्याम्पस समुदायलाई विविध दृष्टिकोण र अनुभवहरूले समृद्ध बनाउने उनको विश्वास छ।
धमलाका अनुसार क्याम्पसले क्राइकस स्वीकृति प्राप्त गरेको भए पनि ‘अस्ट्रेलियन एसोसिएसन अफ सोसियल वर्कस’ (ए.ए.एस.डब्ल्यूबाट यो कार्यक्रमले मान्यता प्राप्त गर्न बाँकी रहेको छ। आफूहरू उक्त मान्यताका लागि पनि काम गरिरहेको र छिटै प्राप्त हुने विश्वास उनले व्यक्त गरे।
क्राइकस कोड अस्ट्रेलियाली शिक्षण संस्थाहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न स्वीकृत पाठ्यक्रमहरूको लागि दिइने एक विशिष्ट पहिचान सङ्ख्या हो। यो स्वीकृति प्राप्त गरे सँगै अब न्याप्स सिड्नी क्याम्पसले स्नातक तहमा ‘सोसियल वर्क’ (बि.एस.डब्ल्यु) मा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्न आवश्यक मापदण्ड पूरा गरेको छ।
न्याप्स सिड्नीमा हाल ‘ब्याचलर अफ अकाउन्टिङ’ तथा ‘ब्याचलर अफ इस्लामिक बिजनेस’ अध्यापन भइरहेको छ । साथै कलेजले थप नयाँ विषयहरू भित्र्याउन र अर्को धेरै खोजिने स्थानमा नयाँ क्याम्पस खोल्ने तयारी गरेको छ।
न्याप्स सन् २०२१ मा सञ्चालन अनुमति पाएको निजी क्षेत्रको उच्च शिक्षा प्रदायक संस्था हो। यसका सञ्चालक नेपाली मूलका अस्ट्रेलियन व्यवसायी मात्रिका बिमली तथा अधिवक्ता सुमन भेटवाल रहेका छन्। साथै अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा नेतृत्वदायी भूमिका निभाइसकेका व्यक्तित्वहरू पनि सञ्चालक समितिमा रहेका छन्। सोही समूहले अस्ट्रेलियामा अन्य ३ वटा भोकेसनल कलेज पनि सञ्चालन गरिरहेको छ।