दश वर्षपछि टि–ट्वान्टी वल्र्ड कपमा सहभागी हुन गएको नेपाली क्रिकेट टोली देश फर्किसक्यो ।
टुर्नामेन्टको पहिलो चरणबाटै बाहिरीने क्रममा नेपालले एउटा खेल पनि जित्न नसकेपनि मन भने हरेक खेलमा जित्यो ।
पहिले नेपाली समर्थकको मात्र मन जित्ने गरेको नेपाली टोलीले यसपटक क्रिकेटका ठुल्ठुला हस्तीहरुको पनि मन जित्न सफल भयो ।
त्यसैले यो विश्वकप नेपाली क्रिकेटका लागि सुखद नै रह्यो भन्दा वास्तवमै फरक पर्दैन ।
विश्व क्रिकेटको हस्ती साउथ अफ्रिका र तुलनात्मक रुपमा नेपालभन्दा निकै अनुभवी र बलियो टोली बगंलादेशविरुद्द नेपालको प्रदर्शन दर्शनिय थियो । दुबै टेष्ट राष्ट्रको ‘‘मुटु घाँटीसम्म ल्याउनेगरी’’ नेपालले गरेको प्रदर्शनले पक्कै पनि ठुल्ठुला क्रिकेट पंडितहरुको ध्यान नेपाली क्रिकेटतर्फ तानेकोे छ ।
बलरहरुलाई निकै सघाउने पिचमा नेपाली बलरहरुले गरेको प्रदर्शन सम्झनलायक रह्यो तर, नेपाली व्याटरहरुको व्याट भने चल्न सकेन ।
खासमा विराट कोहली, डेविड वार्नर, हेनरिक क्लासन, बाबर आजम, केन विलियम्सन, जोस बटलरजस्ता हस्तिहरुको व्याट पनि त सोचेजस्तो चलेन नि, हैन र ?
एकछिन, फ्लासब्याकमा जाऔँ । वल्र्डकपमा नेपाल साउथ अफ्रिका, श्रीलंका र बगंलादेशसँगै एउटै समुहमा पर्यो भन्ने थाहा पाएपछि हाम्रो प्रतिकृया के थियो ?
‘‘आईपिएलमा आतंक मच्चाइरहेका हेनरिक क्लासन र ट्रिस्टीयन स्टब्सले नेपाली बलरहरुको हरेक बलमा छक्का हान्छन, कागिसो रबाडा, मुस्तफिजुर रहमान, माथिसा पाथिरानाको तेजतर्रार बल देख्छन कि देख्दैनन् ?’’ सामाजिक सञ्जालमा यस्तै खिसिट्यूरी गर्दै पोष्टहरु आउने गर्दथ्यो ।
तर, मैदानमा दृष्य फरक देखियो । नेपाली क्रिकेट टिमको प्रदर्शन ‘‘फेसबुके क्रिकेटविदहरु’’को विश्लेषणभन्दा राम्रो रह्यो । ‘‘स्लो पिच’’मा अन्य टिमका व्याटरहरुजस्तै हाम्रा व्याटर पनि चलेनन्, बलिङको चर्चा त चौतर्फि नै छ। हो, कप्तान रोहित पौडेलले भनेजस्तो फिल्डिङमा चाँहि हामीले अझै सुधार गर्नुपर्ने अवश्य नै छ ।
समग्रमा भन्नुपर्दा, नेपाली खेलाडीहरुले साच्चिकै यसपटक सबैको मन जिते । पाकिस्तान, श्रीलंका, न्यूजिल्याण्डजस्ता धाकड टिमहरुले त न खेल जिते न त मन नै । यता अष्ट्रेलीयाजस्तो हस्ती राष्ट्र अफगानीस्तानका कारण सेमिफाइनल पुग्न सकेन ।
अब के त ?
अब अर्को विश्वकपको तयारी ।
हामीले हाम्रा खेलाडीहरुको क्षमता देखिसक्यौ । कमजोरी पनि । सुधार गर्नुपर्ने ठाँउहरु पनि थाहा भयो । सम्भावनाको हिसाबमा हामी सधैँ माथि नै थियौ, छौ ।
तर, के खेलाडीहरुले मात्र सुधार गरेर हुन्छ त ?
पक्कै हुँदैन ।
अबको दिनमा क्यान र राष्ट्रले क्रिकेटलाई अझ धेरै गम्भिर रुपमा लिएर अघि बढ्न जरुरी छ ।
पक्कै पनि नेपाली क्रिकेटलाई सबैभन्दा राम्रोसँग भोगेका, बुझेका नेपालका सफलतम् क्रिकेटर एव् पुर्व कप्तान, हाल क्यानका सचिव पारस खड्कालाई थाहा नै होला अब के गर्नुपर्छ भन्ने ।
अन्त्यमा, सबैले एकै श्वरमा भनौँ ‘‘वेल डन टिम नेपाल’