काठमाडाैँ । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ । सर्वोच्च अदालतको आदेशपछि प्रदेशसभा बैठकमा भाग लिन पुगेका उनलाई मर्यादा पालकले प्रदेशसभा बैठक प्रवेशमा रोक लगाएका हुन् ।
देवकोटाले ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । माओवादीले कारबाही गरेसँगै सो सूचना सभामुख कृष्ण धितालले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका थिए । माओवादीको कारबाहीविरुद्ध उनी अदालत गएका थिए ।
देवकोटाले आफू नेपाल समाजवादी पार्टीमा रहेको र पार्टी त्याग नगरेको भन्दै उनी अदालत गएका थिए । अदालतले समेत देवकोटालाई नेपाल समाजवादी पार्टीले कारबाही गरी निष्कासन नगरेको पाइएको भन्दै अन्तिम टुंगो नलाग्दासम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि प्रदेशसभा बैठकमा भाग लिन पुगेका उनलाई प्रवेशमा रोक लगाइएको छ ।
२०७९ मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनमा उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा २ (१) बाट निर्वाचित भएका थिए । तर राजपत्रमा प्रकाशित सूचनामा देवकोटा नेपाल समाजवादी पार्टीको भएको उल्लेख गरिएको छ ।